· ArtistNepal Network
· Filmy News
काठमाडौं- अडिसनमार्फत मुख्य नायिकाको आवेदन खुल्ला गरेको ‘प्रेमगीत–३’ युनिटले अन्ततः कृष्टिना गुरुङलाई छानेको छ। अडिसनकै लागि अमेरिकाबाट नेपाल आएकी कृष्टिनाले सहभागी २ हजार ७ सय १४ जना प्रतिष्पर्धीलाई उछिन्दै चलचित्रमा काम गर्ने अवसर पाएको फिल्म युनिटको दाबी छ। फिल्मका निर्माता सन्तोष सेनका अनुसार २ हजार ७ सय १४ जनाबाट उत्कृष्ट २५ र त्यसपछि उत्कृष्ट पाँच छनौट गर्दै अहिले कृष्टिनालाई मुख्य नायिकाको रुपमा छानिएको हो।
‘उत्कृष्ट २५ मा छानिएका धेरैजसो उत्कृष्ट हुनुहुन्थ्यो तर हामीले खोजेजस्तो ‘गीत’ पात्र क्रिस्टनामा पायौँ, त्यसैले उहाँलाई अनुबन्धित गरिएको हो,’ निर्माता सेनले भने। आशुसेन फिल्मस्को ब्यानरमा निर्माण हुने यो फिल्मलाई छेतेन गुरुङ र सन्तोष सेनले संयुक्त रुपमा निर्देशन गर्दैछन्। निर्माण टिमले कलाकारहरुमा शिव श्रेष्ठ, सुनील थापा, मनिष राउत, अनुभव रेग्मीलगायतलाई यसअघि नै फाइनल गरिसकेको थियो।
अब चलचित्रको मुख्य अभिनेता र अन्य दुई बालकलाकारको छनौट बाँकी रहेको छ। त्यसपछि निर्माण टिमले चलचित्रको औपचारिक घोषणा गर्ने तयारी गरेको छ।