· ArtistNepal Network · ArtistNepal News

किराती मौलिक पहिचान तथा सांस्कृतिक संरक्षणमा सहयोग पुर्याउने उद्देश्यले अमेजन ईन्टरटेन्मेन्टले "मिसेस किरात नेपाल २०१८" को आयोजना गर्ने भएको छ । यस् प्रतियोगितामा लिम्बु, राई, सुनुवार र याख्या बिबाहित किरात महिलाहरुले प्रतिनिधित्व गर्न पाउनेछन । प्रतियोगितामा सहभागिताका लागि कम्तिमा ५ फिट उचाई तथा कम्तिमा एसएलसी (एसईई) सम्म उत्तिर्ण र विबाहित हुनुपर्ने प्रावधान रहेको आयोजकले जनाएको छ । सहभागी हुन ईच्छुक सहभागीले २० चैत्रसम्म आबेदन दिई सक्नुपर्ने जनाइएको छ । अमेजन ईन्टरटेन्मेन्ट, डिल्लिबजार तथा आर्टिस्ट नेपाल, पुतलीसडकमा आबेनदन फारम लिन सकिने छ ।

संसारभरि छरिएर रहेका किरातहरूको प्रतिनिधित्व हुने गरी मिसेस किरातको छनोटको कार्यक्रम गर्न लागिएको आयोजक संस्थाका निर्देशक तथा कोरियोग्राफर हिमानी सुब्बाले जानकारी दिनुभयो । विशेष गरी विश्वमा रहेका विभिन्न किसिमका प्रतिस्पर्धाहरूमा बिबाहित किरात महिलाहरूको समेत उपस्थिति जनाउन प्रतियोगिताको आयोजना गरेको कोरियोग्राफर सुब्बाले बताउनुभयो ।

छुट्टै भाषा, संस्कृति र संस्कार रहेको किरात समुदायभित्रका फरकफरक भाषिक समुदायको समुच्च प्रतिनिधित्व हुनेगरी र किरात संस्कृतीलाई जोगाउन  मिसेस किरात नेपालको आयोजना गर्न लागिएको उनले बताईन् । किरात राई, सुनुवार, लिम्बु तथा याखा समुदायभित्रका बिबाहित नारी प्रतिभालाई विकास एवं निख्खारता ल्याउन यो कार्यक्रमले थप मद्धत गर्ने आयोजक संस्थाले अपेक्षा गरेको आयोजक संस्था अमेजन इन्टरटेनमेन्टका अध्यक्ष कमल खतिवडाले बताए ।

आगामी बैशाख महिनामा सञ्चालन हुने प्रतियोगिताका लागि आवेदन फारम खुला गरिएको छ । आबेदनबाट छानिएका किरात महिला सहभागीहरूलाई १ महिना बन्द प्रशिक्षण तालिममा विभिन्न किसिमको व्यक्तित्व विकाससम्बन्धी तालिम, किरातहरूको संस्कार संस्कृतिबारे प्रशिक्षण, भाषा सम्बन्धी जानकारी, साकेला नृत्य, फोटोसुट, कोरियोग्राफी लगायतका ग्रुमिङ कक्षा दिइनेछ । प्रतियोगितामा शीर्ष उपाधिका साथै फस्ट रनरअप, सेकेन्ड रनरअप, मिसेस ट्यालेन्ट, मिसेस पब्लिक च्वाइस, मिसेस पर्सनालिटी, मिसेस डिस्सिप्लिन, मिसेस फ्रेन्ड्सिप, बेस्ट फोटोजेनिक जस्ता अवार्ड समावेश गरिएका छन् ।

Tags: Himani Subba Amazon entertainment ArtistNepal Studios Mrs. Kirat Nepal