· ArtistNepal Network · Uncategorized · ArtistNepal News · Music news
2011-07-03 21:43:45 नेपाली सङ्गीत,नेपाली संस्कृति, र नेपाली साहित्यका धरोहर मास्टर मित्रसेन थापा मगरको भारत, भाक्सुस्थित सातदशक पुरानो घर जीर्णोद्धार हुने भएको छ। यसका लागि नेपाली सङ्गीत प्रेमीहरू संस्थागत र व्यक्तिगत रूपमा अर्थ सङ्कलनमा जुटेका छन्। हालै गरिएको एक साङ्गीतिक कार्यक्रममा रु.१० लाख ५ हजार जुटेको मास्टर मित्रसेन प्रतिष्ठानका महासचिव गौबहादुर आले बताउँछन्। मित्रसेनकी बुहारी मार्फत उनको घर भत्केको जानकारी पाएपछि शुरु भएको अभियानमा हङकङका नेपाली व्यवसायीहरूले समेत आर्थिक सहयोग गरेका छन्। मित्रसेन प्रतिष्ठानका अध्यक्ष त्रिलोक थापा नेपाली सङ्गीतमा मित्रसेनले पुर्‍याएको योगदानको कदरस्वरुप सहयोग जुटाउन थालेको बताउँछन्। भारतीय सैन्य सेवाका कारण नेपालको पर्वतबाट हिमाञ्चल प्रदेशको भाक्सुमा बसाइँ सरेका मानबिरसेन मगरका एउटै सन्तानका रुपमा मास्टर मित्रसेनको जन्म भएको थियो। सम्बत १९५२ साल पुस १४ गते भारतको भास्सु तोतारानीछेउ छाउनी धाराखोलामा मित्रसेनको जन्म भएको थियो। मलाई खुत्रुक्कै पार्‍यो जेठान तिम्रो बैनीले ... , लाहुरेको रेलिमाई फेसनै राम्रो ..., धानका बाला झुल्यो हजुर ........, जस्ता नेपाली गीतका स्रष्टा हुन्। उतिवेला ९७ वटा गीत रेकर्ड गरेका मित्रसेनको सम्मानमा नेपाल र भारत दुवै सरकारले टिकट प्रकाशित गरेका छन्।