· ArtistNepal Network · artists · Music Artist

“माथि माथि सैलुङ्गेमा, सिमसिमे पानीमा…” जस्ता दर्जनौँ चर्चित गीतहरूमा सुन्न सकिने मधुर बाँसुरीको धुनका धनी हुन् पञ्च लामा। नेपाली आधुनिक तथा लोक सङ्गीतमा बाँसुरीलाई विशिष्ट उचाइ दिने कलाकारका रूपमा उनी परिचित छन्।

उनले गोपाल योञ्जन, कर्म योञ्जन, शम्भुजित बासकोटा लगायत थुप्रै चर्चित सङ्गीतकारका रचनामा बाँसुरीको मिठास भरेका छन्।


बहुआयामिक वाद्यवादक

तबला, मादल, किबोर्ड र गितारमा समेत पोख्त पञ्च लामा मूलतः बाँसुरीवादकका रूपमा स्थापित भए। उनका ‘चौतारी’, ‘झरना’, ‘यात्रा’, ‘प्रेम’ जस्ता वाद्यवादन एल्बमहरू बजारमा आएका छन्। साथै ‘हिमालयन बिट’ र ‘कृष्ण लिला’ जस्ता परियोजनामार्फत पनि उनले आफ्ना सिर्जना प्रस्तुत गरेका छन्।

लामो समयदेखि जापानमा बसोबास गर्दै आएका उनले उतैका कलाकारहरूसँग मिलेर २०५२ सालमा ‘चौतारी ब्याण्ड’ स्थापना गरे। त्यसयता जापानमा नेपाली तथा अन्तर्राष्ट्रिय दर्शकमाझ विभिन्न सांगीतिक कार्यक्रम गर्दै आएका छन्।


सर्लाहीदेखि सङ्गीत साधनासम्म

सर्लाहीको घुर्क्यौलीमा जन्मिएका पञ्च लामा बाल्यकालदेखि नै सङ्गीतप्रति आकर्षित थिए। घरमा काम गर्ने हलीले बाँसुरी बजाएको देखेर १० वर्षको उमेरमै उनी त्यसतर्फ मोहित भए। उनैसँग बाँसुरी बजाउन सिक्दै उनले पहिलोपटक “नाचिदेऊ मैच्याङ्ग तिमी डम्फूको तालैमा…” भन्ने धुन बाँसुरीमा उतारे।

१२ वर्षको उमेरसम्म पुग्दा उनी गाउँमै चर्चित भइसकेका थिए। रेडियोमा बज्ने गीतहरू जस्ताको तस्तै बाँसुरीमा उतार्ने क्षमता उनको विशेषता बनिसकेको थियो।


पेशागत यात्रा

उनको प्रतिभाले चाँडै नै अवसर दिलायो। १६ वर्षकै उमेरमा महेन्द्र पुलिस क्लब मा वाद्यवादकको रूपमा जागिर पाए। पाँच वर्ष त्यहाँ सेवा गरेपछि उनले म्युजिक नेपाल र रेडियो नेपाल मा बाँसुरी बजाउने काम गरे। साथै ग्यालेक्सी स्कूलमा सङ्गीत सिकाउने कार्यमा पनि संलग्न रहे।

२०४७ सालमा जापानको एक रेस्टुरेन्टमा वाद्यवादकका रूपमा पुगेका लामा पछि उतै स्थायी रूपमा बसोबास गर्न थाले। जापानमै बसेर उनले नेपाली सङ्गीतको सुगन्ध फैलाइरहेका छन्।


समाजसेवामा पनि समर्पण

विदेशमा रहे पनि उनले जन्मभूमि बिर्सेनन्। सर्लाहीको घुर्क्यौलीमै असहाय विद्यार्थीहरूका लागि तीन कक्षासम्म अध्ययन हुने ‘पञ्च इसाका स्कूल’ स्थापना गरे। त्यहाँ विद्यार्थीहरूले निःशुल्क बस्न, खान र पढ्न पाएका थिए।

जापानी साथीहरूको सहयोग र आफ्ना सीडी बिक्रीबाट उठेको १० प्रतिशत रकम विद्यालय सञ्चालनमा खर्च गर्दै उनले समाजसेवाको उदाहरण प्रस्तुत गरेका छन्।